गुगल अर्थको हेरेर मुक्तिनाथ गुरुयोजना बन्छन्: गुरुङ

हिमालपारीको जिल्लाको मुस्ताङको मध्य भागमा पर्ने गाउँपालिका हो बाह्रगुङ मुक्तिक्षेत्र, हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको संयुक्त धार्मिक स्थलको रुपमा रहेको मुक्तिनाथ मन्दिर यसै गाउँपालिकामा पर्दछ । पर्यटन तथा कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको यस गाउँपालिकाले सोही अनुसार आफ्ना योजनाहरु बनाउँदै आइरहेको छ । यसै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङसँगकाे कुराकानी ।

बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाले समग्र गाउँपालिकाको विकासका लागि के कस्ता योजनाहरु अगाडि बढाइरहेको छ ?

बाह्रगुङ मुक्तिक्षेत्र मुस्ताङको मध्य भागमा पर्ने गाउँपालिका हो । समग्र मुस्ताङ जिल्लानै कृषि तथा पर्यटनबाट धानिएको जिल्ला हो, सोही अनुसार पनि बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागि कृषि तथा पर्यटनको विकास गरेर अगाडि बढ्नेगरी काम गरिरहेका छौं । गाउँपालिकाले कृषिमा आधुनिकीकरण तथा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षित गर्नका लागि योजना बनाएर अगाडि बढीरहेको छ ।

गाउँपालिका पर्यटकीय दृष्टिले अति महत्वपूर्ण ठाउँ हो, पर्यटनका क्षेत्रमा के के काम गरिरहनुभएको छ ?

हाम्रो गाउँपालिका भित्रै पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको संयुक्त धार्मिक स्थल हो । यस्तो स्थल विश्वमै प्राय ठाउँमा मात्र हुने गर्दछ । धार्मिक रुपमा मुक्तिनाथ क्षेत्र चर्चित स्थलपनि भएकाले यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी गाउँपालिकाले काम गरिरहेको छ । यस्तै ग्रामिण क्षेत्रमा सडक विस्तार गर्दा ट्रेकिङ रुटहरुमा समस्या आएकाले गाउँपालिकाकै सक्रियतामा कागबेनी–मुक्तिनाथ–झोङ, चिरीताङवेसम्मको ट्रेकिङ रुट निर्माण गरिएको छ । जुन टे«किङ रुटले गाउँपालिकाका सबै वडालाई समेट छुने भएकाले गाउँको मुख्य टे«किङ रुटको रुपमा विकास भइरहेको छ । यस्तै अन्य साना ट्रेकिङ रुट, धार्मिक तथा पर्यटकीय स्थलहरुको मर्मत सम्भार लगायतका क्षेत्रमा काम गरिरहेका छौं । मुस्ताङ क्षेत्रमा आउने पर्यटकहरु यहाँको सांस्कृतिक अवस्थाबाट पनि बढी मात्रामा आकर्षित हुने गरेकाले यस क्षेत्रका मानिसहरुले परम्परागत रुपमा मनाउँदै आइरहेका मेला, पर्व तथा संस्कारहरुको संरक्षणमा गाउँपालिकाले विशेष ध्यान पु¥याएको छ ।

कृषिका क्षेत्रमा के के काम गरिरहनुभएको छ ?

यस गाउँपालिका क्षेत्रमा बढी मात्रामा स्याउ खेती हुने भएकाले स्याउको व्यवसायीकरणका लागि गाउँपालिकाले कृषिकहरुलाई प्रोत्साहन गर्दै आइरहेको छ । यस्तै यस क्षेत्रमा हुने फापर, वाँ लगायतका बाली उत्पादन बृद्धिका लागि अनुदान लगायतका क्षेत्रमा काम गरिरहेको छ । कृषिमा लाग्नेहरुको संख्या दिनप्रतिदिन घट्दै जाँदा मुस्ताङका खेतीयोग्य जमिनहरु बाँझो हुने अवस्था आएकाले त्यस्ता बाझो जमिनमा खेती गर्नका लागि प्रोत्साहन गर्दै कृषि अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । यस्तै मुस्ताङ क्षेत्रमा स्याउ खेतीको विस्तार तिव्र गतिमा भइरहेकाले छ । अहिलेसम्म कृषकले स्याउ खेती गर्ने तर उत्पादन भएको स्याउको बोटनै व्यापारीहरुलाई ठेक्कामा बिक्री गर्दा यहाँको स्याउको दाना मात्र बजारमा पुग्दा स्याउका अन्य परिकारहरु उत्पादन गर्न नसकिएकाले यहाँको स्याउबाट उत्पादित जाम, ब्राण्डी तथा जुसहरु उत्पादन गर्नका लागि गाउँपालिकाले स्याउको आधुनिकीकरण प्रशोधन लगायतका क्षेत्रमा ध्यान दिएर काम गरिरहेको छ ।

तपाईको गाउँपालिका भित्रै हिन्दुहरुको पवित्र कागबेनी तथा मुक्तिनाथ मन्दिर छन्, त्यसको विकासका लागि के योजना बनाउँनुभएको छ ?

कागबेनी तथा मुक्तिनाथ मन्दिर भएकै कारण असोज–कात्तिक महिनामा मुस्ताङ, म्याग्दी, पर्वत, बागलुङ क्षेत्रमा पर्यटकहरुको चहलपहल हुने गर्दछ । हिन्दु धर्म मान्नेहरुले एकपटक कागबेनीमा पितृ श्राद्ध गरेर जीवनमा एकपटक मुक्तिनाथ जानैपर्ने प्रचलनका कारण असोज–कात्तिक महिनामा यहाँ धार्मिक पर्यटकहरुको चहलपहल हुने गरेको छ तर यी क्षेत्रहरुको विकासका लागि गाउँपालिकाले सामान्य तरिकाले काम गरेपनि अहिलेसम्म ठोस काम गर्न सकेको छैन ।

मुक्तिनाथ विश्वमै प्रसिद्ध छ, त्यही मुक्तिनाथ मन्दिर भएको गाउँपालिकाले त्यहाँको विकासका लागि किन ध्यान दिन सकेन ?

मुक्तिनाथ मन्दिर आफ्नो गाउँपालिका, जिल्ला, प्रदेश र देशका लागि मात्र नभई विश्वकै प्रख्यात धार्मिक स्थल हो । तर यस क्षेत्रको विकासका लागि विगतका दिनहरुमा काम हुन नसक्दा समस्या सिर्जना भएको छ । जाडोयाम सकिएपछि मुक्तिनाथ मन्दिर दर्शन गर्न आउँने पर्यटकहरुको बाक्लो उपस्थितिका कारण मुस्ताङका होटल व्यवसायीहरुलाई पर्यटकहरुलाई राख्नै नसक्ने अवस्थाको सिर्जना हुन थालेको छ । तर मुक्तिनाथ क्षेत्रको सरसफाई, यहाँको भौतिक संरचनाको विकासका लागि केही हुन सकेको छैन, अहिलेपनि हामीले मुक्तिनाथ क्षेत्रको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरिरहेका छौं तर हिजोका दिनमा मुक्तिनाथको आम्दानी अनुसार त्यहाँको विकासमा खर्च भएको देखिदैन । अहिलेपनि त्यहाँका पाटीपौवा, त्यहाँको पैदलमार्ग, त्यहाँ राखिने मूर्ति, सत्तल लगायतका काममा अरुहरुले नै सहयोग गर्नुपर्ने अवस्था आएको छ ।

मुक्तिनाथ क्षेत्रको विकास गर्ने विषयमा धेरै पटक चर्चा चलेको थियो ? त्यो विकासका योजनाहरु के के हुँदैछन ?

मुक्तिनाथ क्षेत्र राष्ट्रिय अन्र्तराष्ट्रिय क्षेत्रमा प्रख्यात भएकै कारण यहाँ धेरैको आँखा परेका छन्, मुक्तिनाथको समग्र आम्दानी, खर्च, यहाँको भौतिक विकासको सम्पूर्ण जिम्मा प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मुक्तिनाथ विकास समितिको मातहतमा रहेको छ, तर सोही अनुसार काम भइरहेको छैन । काठमाडौंका होटलहरुमा बसेर इमेल इन्टरनेटको प्रयोग गर्दै गुगल अर्थको सहायताले मुक्तिनाथको विकासका लागि डिपिआर तथा गुरुयोजनाहरु बन्ने गरेका कारण अहिलेसम्म मुक्तिनाथको विकास हुन नसकेको हो । जहिलेसम्म स्थानीय तहलाई यसप्रति उत्तरदायी बनाउँन सकिदैन तवसम्म यहाँको विकास गर्न धेरै कठिन छ ।

 त्यसो भए अहिलेसम्म मुक्तिनाथ विकासका लागि भएका कामहरुको प्रगति नभएकै हो ?

मुक्तिनाथ क्षेत्रमा पहिला भन्दा धेरै कामहरु भएका छन्, राज्य, संघ संस्था तथा व्यक्तिगततर्फबाट यहाँ धेरै संरचनाहरु बन्दै गइरहेका छन्, यहाँको भौतिक अवस्थामा धेरै काम भएका छन् तर मुक्तिनाथ मन्दिरले जति आम्दानी गर्ने गरेको छ सोही अनुसार काम भएको छैन भन्ने हाम्रो ठम्माइ हो । विगतका दिनमा मुक्तिनाथ मन्दिरका नाममा थुप्रै डिपिआर, गुरुयोजनाहरु बनेका छन् जसका लागि लाखौं रुपियाँ खर्च भएका छन तर सोही अनुसार काम भएको छैन । अब मुक्तिनाथको विकास कसरी गर्ने, यसमा गाउँपालिकाको ध्यान गएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक हुने मुक्तिनाथ विकास समितिबाट खासै काम हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारीहरु छोटो छोटो समयमा फेरिने गर्दा मुक्तिनाथको समग्र विकास हुन नसकेकाले व्यवस्थित रुपमा अगाडि बढाउँनका लागि गाउँपालिकालाई स्वामित्व हस्तान्तरण गरी अगाडि बढ्न सके त्यहाँबाट धेरै भन्दा धेरै फाइदा लिन सकिन्छ ।

हिमाली जिल्ला भएकाले तपाइहरुले बनाउँने योजना कार्यान्वयन गर्न कत्तिको सहज देख्नुभएको छ ?

हामीले सबै वडाहरुलाई समानुपातिक रुपमा विकास गर्ने गरी योजना बनाएका छौं, हिमाली जिल्ला भएकालेपनि कर्मचारीहरुको अभाव हुँदा काम गर्न केही समस्या भएपनि योजना कार्यान्वयनमा ध्यान दिएका छौं ।

अन्तमा गोरखापत्रमार्फत के भन्न चाहानुहुन्छ ?

मुस्ताङ क्षेत्र लामो समयसम्म बत्तिमुनीको अध्यारोको रुपमा रही रहेको थियो, मुक्तिनाथको पहिचानका कारण धर्मप्रति आस्थावान नेपाली तथा भारतीय पर्यटक तथा यहाँको प्राकृतिक सौन्दर्य अवलोकनका लागि तेस्रो मुलुकका पर्यटकहरुको आगमन हुने गर्दथ्यो, अहिले त्यो अवस्थाको अन्त्य भएको छ । मुस्ताङमा लामो समयदेखि कायम रहेको यातायात सिन्डीकेट हट्दा साथ मुस्ताङको ढोका खुलेजस्तै भएको छ । पर्यटकको मौसम (भदौ–मंसिर र फागुन–जेठ)मा मुस्ताङ्गीहरुका होटलहरु भरीभराउ हुने गरेका छन्, यसले यहाँको आर्थिक समृद्धिमा ठूलो योगदान पु¥याएको छ । यही क्षेत्र भएर चिन–भारत सिमा जोड्ने कालिगण्डकी करिडोर निर्माण भएकाले यहाँसम्म आउँनका लागि सहज यातायातको पहुँच पुगेको छ । गाउँपालिकाले स्याउ खेतीको आधुनिकीकरण, यस क्षेत्रमा हुने वाँ, फापर खेतीमा अनुदान, भेडाबाख्रापालन, चौरीपालनमा संलग्न हुने किसानहरुलाई प्रोत्साहन गर्दै आइरहेकाले सोही अनुसार सबैलाग्न सके हाम्रो गाउँपालिका समृद्ध गाउँपालिकाको रुपमा देश विदेशमा परिचित हुन सक्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार