सामाजिक कुरिती अन्त्यकालागि कठोर बनेका छौंः बुढा

बागलुङ जिल्लाको विकट गाउँपालिका हो तमानखोला गाउँपालिका लामो समय मुलुक जनप्रतिनिधिबिहिन अवस्थामा रहँदा एक–दुई कर्मचारीको भरमा सञ्चालन भएका साविकका तीन गाविस समेटेर बनाइएको तमानखोला गाउँपालिकाको विकासका लागि निरन्तर सक्रिय छन् ३० वर्षीय गाउँपालिका अध्यक्ष जोकलाल बुढा, गाउँको विकासका लागि सडक खन्ने, भौतिक संरचना बनाउँने लगायतका थुप्रै योजनाहरु सञ्चालन गरेर भौतिक विकासका तस्विर देखाउँने परम्परालाई तोड्दै सामाजिक कुरिती अन्त्यका लागि विकट क्षेत्रमा चुनौतीसँग सामना गर्दै छन् अध्यक्ष बुढा, गाउँमा हुने कुलतको अन्त्यदेखि व्याप्त बाल विवाह अन्त्यकालागि कठोर बन्दै गएकोका गाउँपालिकाका अध्यक्ष बुढासँगको कुराकानी ।
गाउँपालिकाले बालविवाह बदर गर्ने अभियान थाल्नुभएको छ, खासमा यो अभियानको सार्थकता के हो ?
तमान खोला गाउँपालिका बागलुङ जिल्लाको विकट गाउँपालिका हो, यहाँको भौगोलिक अवस्थाका कारण धेरै समस्याहरु रही आएका छन्, त्यो मध्य हो सबैलाई नकरात्मक असर गर्ने बाल विवाह बाल विवाह नेपालको कानुन अनुसार गैह्र कानुनी कार्य हो यसको अन्त्य बिना समाज विकास नहुने देखेरै यस्तो अभियान सुरु गरेका हौं । नेपालको कानुनमा १८ वर्ष मुनीकालाई बाल विवाह र २० वर्ष मुनीकालाई चाडै विवाह भन्ने गर्दछन् । तमानखोला गाउँपालिकाले नेपालको कानुनलाई कार्यान्वयन गरेको मात्र हो । २० वर्ष मुनीका बालबालिका मानसिक, शारिरिक रुपमा परिपक्क हुँदैनन, परिपक्क भइसकेको हुँदैन, उनीहरु परिपक्क नहुँदा, व्यक्ति, परिवार, समाज र राज्यलाई नै असर गर्ने भएकाले यसलाई रोक्नका लागि कानुनको मर्मलाई बुझेर अगाडि बढेका हौं ?
खासमा बाल विवाह बदरको अभियान सञ्चालन किन गर्नुप¥यो ?
तमानखोला गाउँपालिकामा अहिलेपनि मागी विवाह, भागी विवाह र हात हाली विवाह जस्ता विवाह हुने गरेका छन् । मागी विवाह दुवै परिवारबीच सहमतिमा विवाह हुने गरेको छ, भागी विवाह केटा केटीको सहमतिमा विवाह हुने गरेको छ भने हात हाली विवाह आफ्नो हक लाग्ने केटीलाई हात हालेर वा लतारेर आफ्नो घरमा लैजानेलाई भन्ने गरिन्छ । यस गाउँपालिकामा दलित र जनजातीको बस्ती बढी भएकाले उनीहरुको मामाको छोरीमाथी फुपुको छोराको अधिकार लाग्ने सामाजिक परम्परा रही आएको छ, फुपुको छोरा जुनसुकै उमेरको होस उसलाई विवाह गर्न मन लागेपनि छोरीले सहमतिमा विवाह गर्न नमाने हात हालेर (लतारेर) लैजाने चलन रही आएकाले यस्ता कुरितीलाई अन्त्य गर्नकालागि यस्तो अभियान सञ्चालन गर्नुपरेको हो । यसरी हात हाली हुने विवाह अधिकांश बालबालिकाकै हुने गरेको र परम्पराअनुसार लतारेर घरमा भित्राएपछि घर भित्र छिरिसकेको कर्म चलेको मान्यता दिइने भएकाले यसलाई अन्त्य गर्न गाउँपालिकाले यस्तो कठोर अभियान सञ्चालन गरेको हो ।
गाउँपालिकाले कस्ता विवाहकती विवाह बदर ग¥यो ?
तमानखोला गाउँपालिकाले गत माघ महिनामै गाउँपालिकाको न्यायीक समितिले विवाह बदरको अभियान सुरु गरेकोमा अहिलेसम्म १० जोडीको विवाह बदर भइसकेको छ । न्यायीक समितिले यसरी कलिलो उमेरै हुने विवाहलाई मान्यता नदिने भन्दै लिखित तथा मौकि उजुरी माग गर्ने र सोही उजुरीका आधारमा केटा केटीका अभिभावक सहित छलफल गरेर १३ वर्ष देखि १६–१७ वर्ष उमेर समूहका बालबालिकाको बिबाह बदर गरेका छौं ।
विवाह बदर गर्न समस्या आएन ?
सुरुमा गाउँपालिकाले अभियान थाल्दा थेग्न सकिन्छ कि सकिन्न भन्ने विषयमा समस्या परेको थियो, यसरी उमेर नपुगी विवाह गरेको जोडी सहित अभिभावकलाई बोलाएर छलफल गर्दा केटापक्ष भन्दा केटी पक्षका अभिभावकहरु बढी मात्रामा आक्रोशित हुने गर्दथे । अर्कैकोमा गइसकेको र कर्म चलिसकेको छोरीलाई कसरी फिर्ता गर्ने भन्ने विषयमा आक्रोशित हुने गरेपनि उनीहरुलाई राम्रोसँग सम्झाइ बुझाइ गरेपछि विवाह बदर गर्न सहमत हुने गरेका थिए । त्यस्तै उनीहरुलाई सचेतना जगाउँनका लागि गाउँपालिकाले बाल विवाह गरेपछि के हुन्छ भन्ने विषयमा तयार पारिएको बृत्तचित्र प्रदर्शन गरेर सम्झाउने गरेका छौं ।
विवाह बदरपछि उनीहरुको अवस्था के हो ?
हामीले विवाह गरेको तीन दिनदेखि एक महिना अवधीका जोडी सहित अभिभावकलाई न्यायीक समितिमा छलफल गरेर विवाह बदर गर्ने गरेका छौं, उनीहरुलाई राम्रोसँग सम्झाई बुझाई गर्दा हामी सफल भएका छौं, प्रेम सम्बन्ध भएर विवाह गरेकाहरुले २० वर्ष पुगेपछि विवाह गर्ने सहमति गरे फर्कने गरेका छन् भने केटाकेटी बढी हेलमेल नभई भएका सामाजिक परम्परा अनुसारका विवाह गरेका जोडी आ–आफ्ना अभिभावकसँग सहज रुपमै बस्ने गरेका छन् । सामाजिक परम्परा अनुसार दलित, जनजाती समुदायमा हुने मामाछोरी फुपुछोराबीच विवाह बदर भएपनि पुरौ नाता सम्बन्ध अनुसारनै बस्ने गरेका छन् । यसरी विवाह बदर गरेपछि धेरै जोडीहरुले हामीले उमेर नपुगी विवाह गरेर गल्ती गरेको भन्दै अब २० वर्ष पुरा भएपछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएर घर फर्कने गरेका छन् ।
यस सम्बन्धी के के गतिविधिहरु गर्नुभएको छ ?
यस गाउँपालिकामा सामाजिक परम्परा अनुसार हात हाली विवाह हुने बाहेक विद्यालय उमेरमै माया प्रेम गरेर विवाह गर्ने प्रचलनपनि बढी भएकाले विद्यालयहरुमा विवाह सम्बन्धी जानकारी गराइदै आएको छ । उमेर नपुगी विवाह गर्दा गाउँपालिकाले विवाह बदर गरिदिने कुरा सुनेपछि सानै उमेरमा प्रेम सम्बन्धमा परेका बालबालिकाहरु त्यो चक्करमा लाग्न छाडेर निरन्तर पढनपाठनमा लागेका छन् भने गाउँमा हुने हरेक साँस्कृतिक, खेलकुद गतिविधि जहाँ धेरै मानिसहरुको सहभागिता हुन्छ त्यहाँ बालविवाह विरुद्धको अभियान सञ्चालन, बृत्तचित्र सञ्चालन लगायतका कामहरु गरिरहेका छौं ।
बाल विवाहको समस्या के हो ?
अहिले तानेर लैजाने प्रवृत्ति कम भएपनि उमेर नपुग्दै विवाह गर्दा उनीहरुको पारिवारिक जीवन कष्टकर हुने गरेको पाएका छौं, विद्यालय स्तरमै मायाप्रेम गर्ने अनि विवाह गर्ने गरेकाले हामीले त्यस्ता ठाउँमा बढी फोकस गरेर अगाडि बढेका छौं । कलिलो उमेरमै विवाह गर्दा उनीहरु परिपक्क नहुने हुँदा पारिवारिक जीवन सफल नहुँने, कलिलो उमेरकै आमाबाट जन्मेका बालबच्चाहरु अलि सुस्त हुने जस्ता समस्या देखिने गरेका छन् । कलिलो उमेरै विवाह गरेपछि, आउने आर्थिक समस्या, पारिवारिक, सामाजिक समस्याकाकारण वैवाहिक जीवन लामो नहुने दोस्रो, तेस्रो विवाह हुने गरेका घटनाहरु देखिएका छन् । कही कही त दुई तीन ठाउँमा विवाह गरेर बालबच्चा जन्माएका जोडीको उमेर समेत २० वर्ष नपुग्ने समस्या छ ।
थप प्रभावकारी बनाउँन के योजना बनाउनुभएको छ ?
गाउँपालिकाले गाउँ गाउँमा बाल विवाहका विरुद्धमा सचेतना जगाउँदै किशोरी शिक्षा प्रदान गर्ने, बाल विवाह गर्दा आउने समस्याका बारेमा जानकारी गराउँने, बृत्तचित्र, सडक नाटकमार्फत जनचेतना जगाउँने लगायतका कामहरु गरेका छौं त्यस्तै गाउँपालिकाले विद्यालयमा गएर विद्यालय अध्ययन गर्ने ठाउँ भएकाले अध्ययन गर्नुपर्ने, उमेर नपुग्दै विवाह गर्दा विवाह बदर हुने जस्ता सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छौं ।
यो लगायत गाउँपालिकाले गाउँको विकासका लागि के के काम गरिरहनुभएको छ ?
तमानखोला गाउँपालिका भौतिक पुर्वाधारक विकासका हिसावले अति पछाडी परेपनि भौतिक पुर्वाधार विकाससँगै गाउँमा हुने कुरिती, विकृति अन्त्यका लागि अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका तर्फबाट गाउँ गाउँमा हुने जुवातास लगायतका विकृती अन्त्यका लागि काम गरिरहेका छौं ।
गाउँपालिकाका नीति तथा बजेट कार्यान्वयनको अवस्था के छ ?
गाउँपालिका विकट भएका कारण गाउँपालिकामा विषयगत कार्यालयका कर्मचारीहरुको अभाव, वडाहरुमा समेत वडा सचिवहरुको अभाव हुँदा लामोसमय जनप्रतिनिधिबिहिन अवस्थामा राज्य र जनताबीचको दुरी बढ्दै गइरहेको अवस्थामा जनप्रतिनिधि भएरआएपछि सोचेजस्तोकाम गर्न सकेका छैनौं, तैपनि गाउँपालिकाले गाउँपालिकाको विकासका लागि सकेसम्म काम गरिहेका छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार