१० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्ः मेहयरसिँह पाइजा

मध्य बागलुङलाई समेटेर बनाइएको गाउँपालिका हो, बडिगाढ गाउँपालिका, बागलुङ जिल्लाकै सबैभन्दा ठूलो भुगोल र जनसंख्या ओगटेर बनाइएको यस गाउँपालिकाले आफूलाई समृद्ध गाउँपालिकाको रुपमा परिचित गराउँनका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ, जीवनको लामो समय कृषिलाई व्यवसायीक तथा अनुसन्धानमूलक बनाउँने अभियानमा लाग्नुभएका मेहरसिँह पाइजा यतिबेला गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । गाउँपालिकाको अध्यक्ष भएपनि गाउँपालिकाको काम बाहेकका अन्य समयमा हरेक किसानको खेतवारीमै डुल्ने गाउँपालिका अध्यक्ष पाइजासँग चन्द्र गणेशले गर्नुभएको कुराकानी ।

प्रश्नः बडिगाड गाउँपालिकाले समृद्ध गाउँपालिका निर्माणका लागि कस्ता कस्ता योजनाहरु लागू गरेको छ ?
उत्तरः बडिगाढ गाउँपालिका बागलुङ जिल्लाको मध्य भागमा पर्ने गाउँपालिका हो । जिल्लाका छ गाउँपालिका मध्य सबैभन्दा ठूलो भुभाग र जनसंख्या भएको यस गाउँपालिकाका विभिन्न वडाहरुमा पुग्नका लागि अहिलेसम्म सडक सञ्जाल जोडिन सकेको छैन, प्रयाप्त सम्भावना भएरपनि सडक सञ्जाल, आधुनिक कृषि प्रविधिको प्रयोग गर्न नसक्दा यस गाउँपालिकाका जनताहरुले सोचेजस्तो राज्यको सेवा र सुविधा प्राप्त गर्न नसकीरहेको अवस्थामा हामीले यसलाई व्यवस्थापन गर्नेगरी काम गरिरहेका छौं । यहाँको कृषि क्षेत्रको विकास र पर्यटन क्षेत्रको विकासलाई अगाडि बढाउँन गाउँपालिकाले स्पष्ट नीति बनाएर अगाडि बढीरहेको छ ।

प्रश्नः गाउँपालिकाले तय गरेका कृषि तथा पर्यटन विकासमा खास के कस्ता कामहरु गर्नुभएको छ ?
उत्तरः गाउँपालिका गठनदेखिनै हामीले बडिगाढ गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँने अभियान सुरु गरेका थियौं । यस गाउँपालिका ६५९ मिटर देखि २६ सय मिटरको उचाइमा रहेकाले यहाँ धेरै प्रकारका कृषि उपजहरु उत्पादन हुने गर्दछन् । सोही अनुसार तल्लो भागमा लिची, अनार, केरा जस्ता खेती विस्तारका लागि गाउँपालिकाले लगानी गरिरहेको छ भने बीच भागमा सुन्तला, कागती, जुनार लगायतका फलफुल तथा माथिल्लो भागमा किवी खेतीको विस्तारलाई विशेष प्राथमिकतामा राखेको छ । यस गाउँपालिकाले गत आर्थिक वर्षदेखिनै नेपालको अन्त प्राय नहुँने मरिच खेतीको समेत अध्ययन गरेर यसको व्यसायीक खेती सुरु गर्न थालेको छ । गत वर्ष मरिच खेतीका लागि दुई लाख रुपियाँ विनियोजन गरिएको थियो भने अहिलेपनि सोही परिमाणमा बजेट विनियोजन गरेर काम गरिरहेका छौं । पर्यटन विकासका लागि यस क्षेत्रका चर्चित चमेरे गुफा र करुणा गुफाको प्रचार प्रसारका लागि डिपिआर तयार भइरहेको छ भने केही समय अगाडि पहिरोका कारण बडिगाढ नदी थुनिएर बनेको तुरतुरे तालमा व्यवसायीक रुपमा ¥याफ्टिङको व्यवस्था, सिसाखानीमा रहेको देवी ढोका, जन्ते ढुङ्गा, अन्धाअन्धी ताल, स्थानीय स्तरमा पदमार्ग, भ्यूटावरको प्रर्वद्र्धन गर्दै अगाडि बढीरहेका छौं ।

प्रश्नः तपाई आफैपनि कृषिको अगुवा व्यक्तिको रुपमा चिनिनुहुन्छ, कृषि पेशामा लाग्नेहरुलाई कसरी हौसला प्रदान गरिरहनुभएको छ ?
उत्तरः मैले यस अगाडिपनि भनिसके गाउँपालिकाले कृषिलाई मुख्य आम्दानीको स्रोतको रुपमा लिएको छ, यहाँ खाद्यबाली, नदगेबाली, फलफुल तथा मसलाजन्य उपजको उत्पादनलाई विशेष ध्यान दिएका छौं । बडिगाढ क्षेत्र सेरेना जातको माहुरीपालनका लागि पनि प्रख्यात रहेकाले माहुरीपालनको व्यवस्थापन तथा विदेशी बजारमा उच्च मूल्य रहेको भिरमाहुरीको बासस्थान समेत प्रयाप्त मात्रामा भएकाले यसमा लाग्ने कृषकहरुलाई हौसला प्रदान गर्ने अभियान गाउँपालिकाले सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘गाउँपालिका अध्यक्ष कृषि पशु विशेष कार्यक्रम’ सुरु गरि व्यवसायीक रुपमा कृषि पेशामा लागेकाहरुलाई अनुदान रकम उपलब्ध गराउँने योजना बनाएका छौं ।

प्रश्नः हरेक क्षेत्रमा अनुदान रकम वितरण हुने गरेको छ वितरण गरिएको अनुदानको उपलब्धी कत्तिको देख्नुहुन्छ ?
उत्तरः सरकारले विगत देखिनै धेरै ठाउँमा अनुदान रकमहरु बाड्ने गरेको थियो । अनुदान रकम वितरणको प्रक्रिया तथा अनुगमन नहुँदा त्यसको खासै प्रभावकारीता नहुने भने देखिएकाले हामी व्यवसायीक रुपमा कृषि तथा पशुपालनमा लागेकाहरुका लागि ‘गाउँपालिका अध्यक्ष कृषि पशु विशेष कार्यक्रम’ लागु गरेका छौं । यस कार्यक्रमबाट लाभ लिने लाभग्राहीले प्रत्यक्ष रुपमा प्राप्त अनुदान रकमको सदुपयोग गर्नुपर्ने प्रावधान बनाएका छौं । यदि देखिनेगरी काम नगरेको पाइएमा अनुदान रकम फिर्ता गर्ने नीति तय गरेका छौं, यस्तो नीति बनाउँदा अनुदान प्राप्तीकै लागि फर्म सञ्चालन गर्ने, अनुदान प्राप्त गरेपछि हराएर जाने परम्पराको अन्त्य हुनेछ ।

प्रश्नः सरकारले निर्माण गरिरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग तपाइकै गाउँपालिका चिरेर जान्छ, यसबाट गाउँपालिकाले कत्तिको फाइदा लिन सफल भएको छ ?
उत्तरः विशेषत हाम्रो गाउँपालिकाको व्यवसायीक सम्पर्क गुल्मी हुँदै बुटवलसम्म हुने गरेको थियो । अहिले प्रदेश राजधानी पोखरा, जिल्ला सदरमुकाम बागलुङ हुँदै मध्यपहाडी लोकमार्ग निर्माण भएपछि यहाँ उत्पादन भएका उपजहरुको बजारीकरणमा धेरै सहजता आएको छ । केही वर्ष अगाडिसम्म यहाँ उत्पादन भएको उपज बिक्रीका लागि डोकोमा बोकेर बजार घुमाउँनुपर्ने अवस्थाको अन्त्य भई टाढा टाढाबाट व्यापारीहरु किसानकै घर बगैचामा आएर उपज खरिद गरेर लैजाने वातावरण सिर्जना भएको छ ।

प्रश्नः गाउँपालिका क्षेत्र जलविद्युतका क्षेत्रमा पनि धनी मानिन्छ, यहाँको विद्युतको अवस्था के छ ?
उत्तरः यस क्षेत्र जलस्रोतका लागि धनी क्षेत्र हो, यहाँ बग्ने हरेक साना तथा ठूला खोलानालामा जलविद्युत आयोजनाहरु निर्माण भएका छन्् । मध्यपहाडी लोकमार्ग बन्नुपूर्व बिकट क्षेत्रको रुपमा रहेको यस क्षेत्रका मासिनहरुले साना खोलानालाबाट लघुजलविद्युत आयोजनाहरु निर्माण गरेर हरेक घरमा विद्युत बाल्दै आएका थिए । अहिलेपनि साना लघुजलविद्युृत आयोजनाहरुबाट यस गाउँपालिका क्षेत्रमा तीन सय ६० किलोवाट विद्युत उत्पादन भइरहेको छ । यस्तै यही बग्ने बडिगाढ नदीमा २२ मेगावाट र चार मेगावाटका दुईवटा जलविद्युत आयोजना निर्माण हुने चरणमा रहेका छन् ।

प्रश्नः स्थानीय तहको गठनपछि बनेको नयाँ गाउँपालिकामा भोतिक संरचना, तथा जग्गाको अवस्था के छ ?
उत्तरः हामी स्थानीय तहको जिम्मेवारीमा आएपछि गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने विषयमा धेरै बहस भएका थिए, गाउँको विकासका लागि आउने बजेटले गाउँपालिकाका लागि जग्गा खरिद गर्दा ठूलो रकम लाग्ने भएकाले गाउँपालिकाको केन्द्र रहन सक्ने निश्चित ठाउँमा जग्गा माग गरेका थियौं सोही अनुसार मध्यपहाडी लोकमार्गसँग जोडिएको व्यवसायीक केन्द्र खार बजारमा स्थानीयले गाउँपालिकाको कार्यालय निर्माणका लागि १० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । यस्तै गाउँपालिकामा बन्ने प्राथमिक स्वास्थ्य केन्द्रका लागि नौं रोपनी र स्थानीय स्तरमा बन्ने क्याम्पसका लागि १३ रोपनी जग्गा निःशुल्क उपलब्ध भएको छ । जनताले करोडौं रुपियाँ पर्ने जग्गा निःशुल्क उपलब्ध गराएर गाउँपालिकालाई समृछ बनाउँने अभियानमा साथ दिएका छौं, यही कारणलेपनि हामीले कार्यालयका लागि भवन बनाउँने ठाउँको खोजीमा समय तथा पैसा खर्चगर्नुे अवस्था छैन् । गाउँपालिकाका लागि प्राप्त जग्गामा भवन निर्माण गर्ने योजना बनाएपनि संघीय सरकार र प्रदेश सरकारबाट के कस्तो बजेटको व्यवस्था हुन्छ सोहीअनुसार अगाडि बढ्ने सोंच बनाएका छौं ।

प्रश्नः गाउँपालिकामा कर्मचारी व्यवस्थापनको अवस्था कस्तो छ ?
उत्तरः नयाँ गाउँपालिका भएकाले हरेक व्यवस्थापनका हिसावले हामी समस्यामा रहेका छौं, भौतिक संरचना निर्माणदेखि कर्मचारी व्यवस्थापन नहुँदा समयमा काम सम्पन्न गर्न समस्या छ, महिलेपनि १० वडा मध्य तीन वटा वडामा वडा सचिव खटाउँन सकिएको छैन, गाउँपालिकामा दरबन्दी रहेका तीन शाखा अधिकृतदेखि करिब एक दर्जन बढी कर्मचारीहरु अहिलेपनि नहुँदा सिमित कर्मचारीहरुलाई सबै काम गर्नका लागि समस्या परिरहेको छ ।

प्रश्नः अन्तमा के भन्न चाहानुहुन्छ ?
उत्तरः हामीले मुलुक समृद्धिको सपना देखेका छौं तर त्यो सपना कसरी कार्यान्वयन गर्ने भन्नेतर्फ सोंच्न सकेनौं । नेपाल कृषि प्रधान मुलुक भएपनि ठूलो मात्रामा कृषि उपजहरु विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । यसलाई व्यवस्थापन गर्नका लागि राज्यले नीतिगत रुपमा अगाडि बढ्न आवश्यक छ । हामीले अहिलेपनि भुगोल अनुसार तथ्यमा आधारित भएर कृषकहरुलाई अनुदान तथा प्रोत्साहन गर्दै आइरहेका छौं । गत वर्ष हरेक वडामा १५–१५ लाख रुपियाँ नमुना कामका लागि विनियोजन ग¥यौं, त्यसबाट धेरै उपलब्धीहरु हासिल गर्न सक्यौं, नेपालमा विश्वका हरेक मुलुकमा माग हुने जडिबुटीहरु छन ति जडिबुटी संकलन तथा निर्यातमा नीतिगत समस्या छन, नेपालका थुप्रै उपजहरु बजार अभावमा त्यसै कुहिएका छन् तिनको सही व्यवस्थापन तथा बजारीकरणका लागि तीनै तहका सरकारहरुले एकतृत गरेर अगाडि बढ्नु आवश्यक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार